कोशी लोकमार्ग र अरुण तेस्रोको प्रधानमन्त्रीद्धारा निरीक्षण

कोशी लोकमार्ग र अरुण तेस्रोको प्रधानमन्त्रीद्धारा निरीक्षण

कार्तिक २३, खाँदबारी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिराटनगरबाट किमाथान्का हुँदै उत्तरी चीन जोड्ने उत्तर दक्षिण कोशी लोकमार्ग र संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्रीले कोशी लोकमार्ग र अरुण तेस्रो आयोजनाको अवस्था, समस्या र सरकारका तर्फबाट गर्नुपर्ने पहलका विषयमा संखुवासभाको नुममा पुगेर आयोजनाका अधिकारीहरुसँग कुराकानी गर्नुभएको थियो । निरीक्षणपछि नुममा स्थानीयद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘उत्तर दक्षिण कोशी लोकमार्ग र अरुण तेस्रो एक नम्वर प्रदेशको मात्रै नभएर देशकै गौरवका आयोजना हुन् । तपाईहरुले आयोजनालाई तोकिएको समयभन्दा पहिल्यै सम्पन्न गर्नेतिर सोच्नुस् । आर्थिक, भौतिक, नीतिगत समस्या छन् भने सरकारलाई भन्नुस्, सरकारले आयोजना सम्पन्न गर्न सबै प्रकारको सहयोग गर्न तयार छ ।’
संखुवासभाको नुमपछि प्रधानमन्त्रीले सदरमुकाम खाँदबारी पुगेर सरकारी कार्यालयका प्रमूखहरुलाई सामूहिक निर्देशन दिनुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले आफू ७५ औं सदरमुकामका रुपमा खाँदबारी आएको बताउँदै कोशी लोकमार्ग, अरुण तेस्रो लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा संखुवासभाका प्रमूख जिल्ला अधिकारी खुमकान्त अर्यालले जिल्लाको विकास निर्माण र शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।