राष्ट्रिय सहमति र समृद्धिको लक्ष्यमा सरकार सफल हुनेछ, ‘प्रधानमन्त्री’

राष्ट्रिय सहमति र समृद्धिको लक्ष्यमा सरकार सफल हुनेछ, ‘प्रधानमन्त्री’

असोज १२, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति जुटाएर आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा अगाडि बढ्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधबार चितवनको दिव्यनगरस्थित आदर्श उच्च माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘म चुनौतिपूर्ण अवसरको रुपमा प्रधानमन्त्रीको जिम्मेवारीमा छु । उच्च अदालत गठनमा राष्ट्रिय सहमति जुटेको छ । स्थानीय तह निर्धारणमा राष्ट्रिय सहमति जुटेको छ । सबै दलहरुलाई मिलाएर राजनीतिक स्थिरता र समृद्धितिर लैजाने मेरो दायित्व हो । म यो दायित्व पुरा गर्नेछु, राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्न सफल हुनेछु ।’
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचनले जनताको समृद्धि र प्रगतिका चाहना अनुसार चितवनलाई विशेष प्राथमिकतामा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । स्वर्ण महोत्सव समारोहमा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।