प्रधानमन्त्रीद्वारा बौद्ध महाचैत्य पूनर्निर्माणको उद्घाटन

प्रधानमन्त्रीद्वारा बौद्ध महाचैत्य पूनर्निर्माणको उद्घाटन

मंसिर ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ बैशाख १२ गतेको बिनासकारी भूकम्पले क्षतिग्रस्त काठमाडौंको बौद्धमा रहेको पूनर्निर्मित बौद्ध महाचैत्यको समुद्घाटन गर्नुभएको छ ।
मंगलबार बिहान बौद्धमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले पूनर्निर्मित महाबौद्धको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विश्व सम्पदा सूचिमा रहेको राष्ट्रिय धरोहर महाबौद्धको नेपालीहरुले नै पूनर्निर्माण गर्नुले पूनर्निर्माणमा नेपालीहरु आफै सक्षम भएको सन्देश गएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘भूकम्प गएको २ वर्ष नबित्दै तपाईहरुले महाबौद्धको पूनर्निर्माण गरेर विश्वभर नेपालको क्षमताको सन्देश दिनुभएको छ । म यहाँहरु सबैलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरुको तत्परता र मेहेनतले सरकारका लागि पनि सकारात्मक चूनौति दिएको छ । यसले सरकारलाई घच्घचाएको छ ।’
सरकारले राष्ट्रिय पूनर्निर्माणको कार्यभारलाई गम्भीरतापूर्वक लिएको बताउँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘भर्खरै मात्र पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सकिएको छ । सरकार तिब्रताका साथ जनताका नीजि घर र राष्ट्रिय सम्पदाहरुको पूनर्निर्माणको प्रक्रियामा जुटेको छ, तपाईहरुले तत्परताले मलाई थप हौसला मिलेको छ ।’ कार्यक्रममा महाबौद्ध पूनर्निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।