प्रमूख अतिथि बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीज्यू,
सहकुलपति एवं माननीय शिक्षा मन्त्रीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा सम्पूर्ण पदाधिकारीज्यूहरू,
आमन्त्रित विशिष्ट अतिथिज्यूहरू,
त्रिवि सभाका विद्वान् सदस्यहरू,
प्राध्यापक तथा विद्यार्थीहरू !
बयालिसौँ दीक्षान्त समारोहमा सहभागी सबैमा म सर्वप्रथम हार्दिक अभिवादन गर्दछु । विश्वविद्यालयको विभिन्न विषय र तहमा गरी दीक्षित हुनुहुने ९,७३४ उपस्थित विद्यार्थीहरूलाई हार्दिक बधाई सहित सुखद् भविष्यको कामना गर्दछु ।
उच्च शिक्षाका लागि कुनै आधार नभएको समयमा आजभन्दा ५७ वर्ष पहिले त्रिभूवन विश्वविद्यालय स्थापना भएको थियो । मुलूकको पहिलो तथा लामो समयसम्म एक मात्र विश्वविद्यालयको रुपमा क्रियाशील यस विश्वविद्यालयले उच्च शिक्षाको क्षेत्रमा पु¥याएको असाधारण योगदानको म स्मरण गर्न चाहन्छु । यस अभियानमा योगदान गर्नुहुने सम्पूर्ण प्राध्यापक तथा विश्वविद्यालयको नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दछु ।
देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति र परम्पराको संरक्षण गर्न, ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धानमा संलग्न रहने जस्तो घोषित उद्देश्य पूरा गर्न यस विश्वविद्यालयले खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।
म आपूm मात्रै हैन, मभन्दा पछिल्लो पुस्ताका अधिकांश राजनीतिक–सामाजिक अभियान्ताहरू त्रिभुवन विश्वविद्यालयका उत्पादन हुन् । आधा शताब्दीभन्दा लामो इतिहास बोकेको मुलुककै अग्रणी विश्वविद्यालयको बयालिसौँ दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा संलग्न हुन पाउँदा मैले गर्वको महसुस गरेको छु ।
म ठान्दछु, शिक्षा जीवनका लागि हुनुपर्छ, समाजको लागि हुनुपर्छ । शिक्षा सबैको लागि हुनुपर्छ, मानवताको लागि र राष्ट्र सेवामा उपयोगी हुनुपर्छ । त्यसै भएर कतिपय विकसित समाजमा आधारभूत शिक्षा निःशुल्क मात्र हैन, विश्वविद्यालय शिक्षा पनि सुलभ छ । विद्यार्थीले सिकेका ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्छन्, राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरूको मात्रै उच्च शिक्षामा पहुँच हुने विद्यमान असमान विश्व–व्यवस्थामा, समाजमा, आय भएका÷नभएका वा उच्च आय भएका वा न्यून आय भएका अधिकांशलाई विश्वविद्यालय शिक्षाको अवसर प्राप्त छ ।
एक मात्र विश्वविद्यालयको रुपमा अढाई दशकभन्दा बढी समय क्रियाशील रहेको त्रिभूवन विश्वविद्यालयले न्यून आय भएकाहरूलाई अध्ययनको मौका दिँदै आयो । बहुविश्वविद्यालय अवधारणा अन्तर्गत अन्य विश्वविद्यालय स्थापनापछि पनि त्रिविले आफ्नो यो परम्परालाई निरन्तरता दिँदै आएको छ । यो सुखद् पक्ष हो । विश्वविद्यालय डिग्री हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्नु यसका सामु रहेका चुनौती हुन् भन्ने म ठान्दछु ।
हाम्रो संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । अर्को शब्दमा भन्नुपर्दा शिक्षा र रोजगारी बीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिवद्ध गरिएको छ ।
अहिले नेपालीहरू विश्वका अधिकांश मुलूकहरूमा आफ्नो श्रम खर्चिरहेका छन् । मिहेनत र इमान्दारितामा अब्बल नेपालीलाई सीप र दक्षतामा समेत सर्वश्रेष्ठ तुल्याउन निःसन्देह विश्वविद्यालयको भूमिका हुन्छ । यसर्थ, शिक्षित विद्यार्थीहरू ‘पढ्न–लेख्न मात्रै जान्ने, अरु नजान्ने’ विडम्बनालाई चिर्दै सक्षम तथा सीपयुक्त जनशक्ति तयार गर्नु आज त्रिविको समेत चुनौती हो भन्ने म ठान्दछु ।
यस बयालिसौँ दीक्षान्त समारोहमा उपस्थित एवं अनुपस्थित मिति २०७२ साल जेठ १८ (June 1, 2015) देखि २०७३ साल असार १ (June 15, 2016) सम्म तह पार गर्ने स्नातक, स्नातकोत्तर, एम.फिल. तथा विद्यावारिधि उपाधि हासिल गर्न सफल हुनुभएका कुल ८३,४२५ विद्यार्थीहरूलाई पुनः एकपटक हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरू सबैका लागि आजको दिनको विशेष महत्त्व छ । देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईंहरूको सपना आज साकार भएको छ र तपाईंहरूले आफ्ना अभिभावकहरूको सपना पनि आज पूरा गर्नुभएको छ । सङ्कटपूर्ण यो अवस्थामा तपाईंहरूले आर्जन गर्नुभएको शिक्षा र ज्ञान समाजका लागि उपयोगी बनोस्, उज्ज्वल भविष्यको लागि सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अन्त्यमा, आपूm को हुँ भन्ने नबिर्सौं र आफ्नो कर्तव्य सम्झौँ भन्ने आदर्श वाक्यलाई आत्मसात गर्नेतर्पm प्रेरित भई त्रिभूवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमा अगुवा बन्ने सफलता मिलोस् । यस गरिमामय समारोहलाई सम्बोधन गर्ने अवसर दिएकोमा विश्वविद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद !
२०७३ पौष १४ बिहीबार
(२९ डिसेम्बर २०१६)
पुल्चोक, ललितपुर