त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा त्रिभुवन विश्वविद्यालय सभाका उपाध्यक्ष माननीय शिक्षामन्त्रीज्यू,
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू,
रजिष्ट्रारज्यू एवं विद्वान् सभासद्ज्यूहरु,
शिक्षाविद्, प्राज्ञ व्यक्तित्वहरु,
विभिन्न क्षेत्रका महानुभावहरु, विद्यार्थीहरु,
सञ्चारकर्मी मित्रहरु, महिला तथा सज्जनवृन्द !
नेपालको शैक्षिक इतिहासमा आफ्नो पृथक पहिचान र गरिमा बोकेको त्रिभुवन विश्वविद्यालय सभाको यस साधारण बैठकका अवसरमा आयोजित यस कार्यक्रममा विश्वविद्यालयको कुलपतिको रुपमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित रहेको यस विश्वविद्यालयले स्थापनाको झन्डै ६ दशक लामो यात्राअन्तर्गत अनेकौँ उपलब्धिहरु हासिल गर्न सफल भएकोमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाई दिन चाहन्छु । यस अवसरमा विश्वविद्यालयको प्राज्ञिक उन्नयन र विकासमा हालसम्म विभिन्न भूकिामा रही प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने प्राध्यापक, शिक्षक, शिक्षाविद् विभिन्न पदाधिकारी, कर्मचारी, विद्यार्थी, शोधकर्ता, अनुसन्धानकर्ता, अभिभावकलगायत सबैलाई धन्यवाद दिन चाहन्छु । साथै, भविष्यमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयको संस्थागत विकास गर्न यस विश्वविद्यालय र यहाँ संलग्न सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
देशको उच्च शिक्षाको धरोहर, लाखौं विद्यार्थीको भविष्यको जिम्मेवारी बोकेको, मुलुकको सबैभन्दा जेठो र ठूलो यस विश्वविद्यालयको साधारण बैठकलाई तपाई विद्धान सभासद ज्युहरुले सफल र सार्थक बनाउन विशेष भुमिका पूरा गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । यस सन्दर्भमा केही विषयमा विशेष ध्यानाकर्षण गर्दछु ।
ड्ड त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले यस अघि नै केन्द्रीय विश्वविद्यालयको रुपमा निर्णय गरिसकेको र नेपालको संविधानले केन्द्रीय विश्वविद्यालयलाई संघको अधिकार सुचिमा उल्लेख गरिसकेकाले विश्वविद्यालयको अधिकार क्षेत्र र भुमिकाको बारेमा कुनै शंका रहेन । बरु यसलाई कसरी केन्द्रीय विश्वविद्यालयकै रुपमा र ‘उत्कृटताको केन्द्र’ बनाउने भन्नेमा सार्थक पहल गरौं ।
ड्ड हाम्रा विश्वविद्यालयलाई २१ औं शताब्दीका चुनौती सामना गर्ने विश्वविद्यालय कसरी बनाउने ? संविधानको मर्म अनुरुप जनसाधारणको सहज पहुचमा उच्च शिक्षा कसरी पुरयाउने ? र, शिक्षालाई आजको युग अनुकूल प्रविधियुक्त, गुणस्तरीय र विश्वव्यापी प्रतिस्पर्धी कसरी बनाउने भन्ने प्रश्नको उत्तर हामीले दिनैपर्छ ।
ड्ड मुलुक राजनैतिक क्रान्तिको ठूलो कोर्स पूरा गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको प्रक्रियामा आइपुगेको छ । राजनैतिक परिर्वतन संगसंगै प्रशासनिक, शैक्षिक लगायतका क्षेत्रमा सोही अनुरुप परिर्वतन हुन नसक्दा यी विषय अन्र्तविरोधी बन्ने गरेका छन । तसर्थ राजनैतिक परिवर्तन संगै शैक्षिक, प्राज्ञिक क्षेत्रमा परिर्वतनका लागि सिंगै विश्वविद्यालय परिवार लाग्नै पर्दछ ।
ड्ड देश आर्थिक विकास र समृद्धिको दिशामा जाँदैछ । आजको विश्वको प्रवृति पनि यस्तो देखिँदैछ भने हाम्रा विश्वविद्यालयले यसका लागि उच्च शिक्षालाई कति अनुसन्धान, उत्पादन र विकासको नेतृत्व गर्न सक्छन त्यसले नै मुलुकको भविष्य निर्धारण गर्दछ । त्रिविका अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाई राष्ट्रिय आवश्यकता पूरा गर्ने दिशामा अघि बढाऔं ।
ड्ड आजको विश्वव्यापी प्रतिष्पर्धामा हामीले पाठ्यक्रमको समयानुकूल परिर्वतन गर्न जरुरी छ । देशमा विदेशी शैक्षिक संस्थाहरु हावी हुँदै जाने तर हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पुरानै रहने अवस्थालाई तुरुन्तै सुधार गरौं ।
ड्ड विश्वविद्यायलको विशाल संरचना तर अस्तव्यस्त व्यवस्थापकीय पक्ष तथा प्राज्ञिक क्षेत्रमा देखिएको अति राजनीतिकरणले विश्वविद्यालयको भविष्यमा नै प्रश्न चिन्ह खडा भएका छन । व्यवस्थापकीय क्षेत्रमा देखिएका यी चुनौतीहरुलाई सामना गर्न सामूहिक रुपले संकल्प गरौं ।
ड्ड विश्वविद्यालय नयाँ पुस्ताको शिक्षा, संंस्कृति र संस्कारद्धारा दिक्षित हुने थलो हो । हाम्रा विश्वविद्यालयमा लामो समयदेखि लोकतान्त्रिक प्रतिस्पर्धाको आधारमा विद्यार्थीहरुले आफ्ना प्रतिनिधिहरु चुन्ने र चुनिने प्रक्रिया अवरुद्ध भएको छ । यसलाई पुनः गतिशील तुल्याउन र स्ववियू निर्वाचन स्वस्थ प्रतिस्पर्धा र रचनात्मक रुपमा सम्पन्न गरी मुलुकमा सम्पन्न हुन गइरहेका स्थानीय, प्रादेशीक र संघीय निर्वाचनका प्रक्रियालाई सकारात्मक संदेश दिन पनि यो बैठकले मार्गप्रशस्त गर्नेछ भन्नेमा म विश्वस्त छु । स्ववियू निर्वाचनमा हुने असामान्य अवस्थाले स्थानीय निर्वाचनमा नकारात्मक सन्देश नजाओस् भन्नेमा हामी चनाखो बन्नु पर्दछ । यस विषयमा राजनितिक तहमा पनि एउटा समझदारी निमार्ण गरेर अघि बढ्नेमा सरकार लागि रहेको जानकारी गराउँदछु ।
ड्ड उच्च शिक्षामा उत्पीडित क्षेत्रका विद्यार्थीको सहज पहुँचका लागि होस् या त विश्वविद्यालयका पुराना संगठन तथा प्रशासनिक संरचनामा र सार्वजनिक खरीद लगायतका आर्थिक अनुशासनको क्षेत्रमा यस साधारण बैठकले गर्न खोजेका संशोधनले विश्वविद्यालयलाई संस्थागत रुपले विकास गर्दै जाने कुरामा म विश्वस्त छु ।
अन्तमा, त्रिभुवन विश्वविद्यालयले विश्वका प्रतिष्ठीत विश्वविद्यालयहरुका जनशक्तिसंग प्रतिष्प्रर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपुर्ति गर्ने कार्यमा सफलता हासील गर्न सकोस भन्ने कामना व्यक्त गर्दछु । विश्वविद्यालयको समृद्धि र विकासका लागि सरकार हर समय साथमा रहने विश्वास व्यक्त गर्दछु । धन्यवाद !
पौष २०, २०७३
किर्तिपुर