दीक्षान्त समारोहका प्रमुख अतिथि ज्यू,
विश्वविद्यालयका उपकुलपतिज्यू तथा सम्पूर्ण पदाधिकारीज्यूहरू,
आमन्त्रित विशिष्ट अतिथिज्यूहरू,
विश्वविद्यालयका विद्वान सभासद्ज्यूहरू,
समारोहमा उपस्थित शिक्षाविद्, प्राज्ञ व्यक्तित्वहरू,
सञ्चारकर्मी मित्रहरू,
आज दीक्षित हुनुहुने विद्यार्थीहरू,
उपस्थित भद्र महिला तथा सज्जनवृन्द ।
पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा उपस्थित भई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ । बि.सं. २०५२ सालमा स्थापना भएको मुलुकको दोश्रो ठूलो र पूर्वाञ्चल क्षेत्रको महत्वपूर्ण विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा विश्वविद्यालयद्धारा सञ्चालित विभिन्न कार्यक्रममा तह पार गरी दीक्षित हुनु हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईहरूका लक्ष्य एवम् प्रगतिहरूले आउँदा दिनमा अझ बढी स्तरोन्नतिको अवसर पाओस् भन्ने शुभेच्छासहित तपाईहरूको भविष्य उज्ज्वल र फलिभूत रहोस् भन्ने शुभ–कामना प्रकट गर्दछु । साथै दीक्षित विद्यार्थी भाइबहिनीहरुलाई राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्न म विशेष आग्रह गर्दछु ।
प्रतिस्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धावाट शैक्षिक संरचनाको विकास एवं विभिन्न शैक्षिक विधामा अध्ययन, अध्यापन र अनुसन्धानका लागि जनस्तरबाट उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालन गर्ने उद्देश्यअनुरुप नेपाल सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुरा हामी सबैलाई विदितै छ । स्थापना कालदेखि हालसम्म यस विश्वविद्यालयबाट झण्डै ८८ हजार विद्यार्थीहरुले स्नातक एवं स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययन सम्पन्न गरिसकेका, यो मुलुकको दोश्रो ठूलो विश्वविद्यालयको रुपमा स्थापित भएको, तुलनात्मक रुपमा न्यून शुल्कमा नयाँ नयाँ विषयमा प्रविधियुक्त शिक्षा प्रदान गर्दै आइरहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसका साथै विश्वविद्यालयले ७० भन्दा बढी शैक्षिक कार्यक्रम, ५ वटा आङ्गिक क्याम्पस र १०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको र पछिल्लो समय कृषि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि कृषि विषयमा स्नातक तहका कक्षाहरु सञ्चालन गरेको थप खुशीको महशुस भएको छ ।
आज नेपालका उच्च शिक्षाको क्षेत्रमा चारैतिर समस्याहरु छन्, बन्द हडतालले विश्वविद्यालयहरु प्रभावित छन् । त्यसो त त्यसै पनि विश्वविद्यालय जस्तो ठूलो संस्था सहज रुपमा सञ्चालन गर्नु कम चुनौतिपूर्ण विषय होइन । यस विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक उन्नयनका सन्दर्भमा पनि यसका आफनै किसिमको चुनौतीहरु विद्यमान रहेको विषयप्रति म जानकार छु । खासगरी नेपाल सरकारले प्रदान गरेको गोठगाउँ परिसरको ८०५ बिघाको परिसरलाई प्राज्ञिक थलोको रुपमा गुरुयोजना अनुरुपको पूर्वाधार विकास तथा मेडिकल कलेजको स्थापनामा ठूलो साधन स्रोतको जुटाउनु यस विश्वविद्यालयको प्रमुख चुनौती हो भन्ने मलाई लाग्दछ ।
यसका साथै जनस्तरवाट सञ्चालित विश्वविद्यालय भएकोले अन्य विश्वविद्यालयको तुलनामा यस विश्वविद्यालयलाई नेपाल सरकारबाट प्राप्त हुने बजेटमा रहेको सीमितता, आफनै अस्पताल, डाक्टर र नर्सहरु रहेको तर शिक्षण अस्पतालको स्थापना एवं दक्ष विशेषज्ञहरुको नियुक्ति गर्न स्रोत साधनको अभावजस्ता समस्याहरु समेत रहेको छ । विश्वविद्यालयका यी चुनौती र समस्याहरुलाई अवसरमा बदल्दै मुलुकको आवश्यकता अनुरुप गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयको व्यवस्थापन अगाडि बढ्नेछ भन्ने मेरो विश्वास छ । यस कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने म विश्वास दिलाउन चाहन्छु ।
उपस्थित महानुभावहरु,
मुलुकको बर्तमान परिस्थितिप्रति यहाँहरु सबै जानकार नै हुनुहुन्छ । नेपाली जनताको लामो समय देखिको सङ्घर्षको परिणामस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई हाल त्यसको कार्यान्वयनको चरणमा रहेका छौं । संविधान जारी भएपश्चात् यसप्रति असन्तुष्ट मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका जायज माग सम्बोधन गरी संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा टेबुल गरिसकेको छ भने संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचनको घोषणा गरी निर्वाचनतर्फ मुलुक अगाडि बढिसकेको छ । हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पु¥याई जनताको दैलोमा सेवा र विकासको सन्दर्भमा स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित हुने मेरो विश्वास छ । मुलुक निर्वाचनतर्फ होमिइसकेको बर्तमान अवस्थामा मैले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।
नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेअनुरुप बर्तमान सरकारले प्रतिस्पर्धी लाभको महत्वपूर्ण स्रोतको रुपमा रहेको जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको छ । गुणस्तरीय जनशक्ति बिना संविधानले परिकल्पना गरेको सम्वृद्ध नेपालको सपना व्यवहारमा उतार्न नसक्ने यथार्थताप्रति ध्यान केन्द्रित गरेर नै यसलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका अतिरिक्त बर्तमान सरकारले संविधानमा व्यवस्था गरिएका प्रदेशहरुमा उच्च प्राविधिक र रोजगारमुखी शिक्षालाई समेत प्राथमिकतामा राखेको छ कि मुलुकको हालको जनसंख्या हेर्दा हामी पपुलेशन वोनसको यूनिक अवस्था अर्थात् आर्थिक रुपमा क्रियाशील जनसंख्या लगभग ६० प्रतिशतको हाराहारीमा रहेको छ । यस्तो अवसर कुनै पनि मुलुकका लागि बिरलै प्राप्त हुन्छ । यो जनसंख्याको रोजगारमुखी उच्च शिक्षामा पहुँच स्थापित गराई मुलुकको आर्थिक सम्वृद्धिमा लगाउनु अहिलेको प्रमुख आवश्यकता हो ।
दीक्षित भाइबहिनीहरु,
आज तपाईहरु दीक्षित हुंदै हुनुहुन्छ । उच्च शिक्षा हासिल गरेर यहाँहरुले सैद्धान्तिक ज्ञान हासिल गरिसक्नु भयो । हासिल गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने बेला आएको छ । ज्ञान एकाङ्की हुदैन, त्यो सार्वभौम हुन्छ । त्यसैले जाति, लिङ्ग, भाषा, धर्म भन्दामाथि उठेर निराकार भई पाएको ज्ञानलाई राष्ट्र सेवामा लगाउनुहोस् । अहिले मुलुक भूकम्प पश्चात्को पूर्नर्निर्माणको महत्वपूर्ण चरणमा छ । तपाईहरुले हासिल गर्नुभएको गरेको प्रविधियुक्त ज्ञानको प्रयोग पुनर्निर्माण र राष्ट्रको आर्थिक सम्वृद्धिका लागि लगाउनुहोस् । मुलुकभित्र उपलब्ध साधन स्रोत, जलसम्पदा आदिको समुचित प्रयोग गरी राष्ट्र निर्माणमा लगाउनुहोस् । विद्याले विनय, सदाचार, सद्भाव र समन्वय सिकाउँछ । त्यसैले समाजसेवी, राष्ट्रसेवी बन्नुहोस्, जुन संस्थाबाट ज्ञान हासिल गर्नुभयो त्यसको नाम उच्च बनाउनुहोस् । यो तपाईको सत्कर्मबाट मात्र हुन सक्छ । म तपाईहरुको उच्च र उन्नत भविष्यको कामना गर्दछु ।
अबको आवश्यकता भनेको राष्ट्रिय हित र उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन गर्र्नु हो । शिक्षालाई गुणस्तरीय र आत्मनिर्भरतामार्फत् जनताको जीवनस्तर बदल्ने उद्धेश्यमा केन्द्रित गर्न जरुरी छ । विश्वविद्यालयका आगामी दिनका क्रियाकलाप त्यस दिशामा केन्द्रित हुने र दीक्षित विद्यार्थी भाइबहिनीहरुले पनि आफ्नो ज्ञान, सीप र दक्षतालाई राष्ट्रको सेवाका लागि खर्च गर्नुहुनेछ भन्ने मेरो पूरापूर विश्वास छ ।
अन्त्यमा, आज दीक्षित हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू र उहाँहरूका अभिभावकहरूलाई यस आठौं दीक्षान्त समारोहको अवसरमा हार्दिक बधाई दिंदै यहाँ उपस्थित प्रमुख अतिथि लगायत उपस्थित सबैमा धन्यवादसहित आजको दीक्षान्त समारोह यही समापन भएको घोषणा गर्दछु, धन्यवाद ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
२०७३ फागुन २२ गते, आइतबार
बिराटनगर, मोरङ ।