केपी शर्मा ओली
“समृद्ध नेपाल सुखी नेपाली“का अभियानकर्ता
नेपालको ४५ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएका नेकपा (एमाले) का अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन विभिन्न आरोह अवरोहसँगै अगाडि बढेको छ। सुदूर पूर्वी जिल्ला तेह्रथुमको आठराई इवा गाउँको साधारण किसान परिवारमा संवत् २००८ साल फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री केपी शर्मा ओली चार वर्षको उमेरमै आमाको निधन भएपछि मातृस्नेहबाट विमुख हुनुभएको थियो। आमाको स्नेही काख गुमाउनु भएका ओलीको पालनपोषण उहाँको हजुरआमाबाट भएको थियो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको ७१ वर्षीय जीवनलाई तीन फरक आयाममा विभाजन गरेर हेर्न सकिन्छ।
पहिलो आयाम
एउटा निम्नमध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोरावस्थाका जिज्ञासु, सिर्जनशील र उर्जाशील समयलाई राजनीतिक अधिकार, सामाजिक न्याय, समानता र देशभक्तिको बलिवेदीमा होमेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी सुखका सबै मार्गहरू परित्याग गरी लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना र मृत्युसँगसमेत साक्षात्कार गर्दै तत्कालीन व्यवस्थालाई परिवर्तन गर्न सफल हुनुभएको थियो।
दोस्रो आयाम
केपी शर्मा ओलीले लोकतान्त्रिक संरचनाहरूको संस्थागत गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एवं लोकतन्त्रको आचरणसिद्ध प्रयोग, उग्रता र भड्काउहरूबाट समाजको रक्षा र जनताको जीवनमा सुख बहालीको मार्गचित्र कोर्नका निमित्त जीवन समर्पित गर्नुभएको छ।
यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक संस्थाहरूको दुरूपयोग विरुद्ध लडिरहनु भएको, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षामा सक्रिय भइरहनु भएको, देशको भूराजनीतिक सामर्थ्य विस्तारमा समय लगाइरहेको, दीर्घकालीन विकासका कार्यक्रम तथा आयोजनाको जग खनिरहेको, सामाजिक सुरक्षामा संरचनात्मक थालनी गरिरहेको र ती काममा भएका भड्काउपूर्ण अवरोधहरूको सामना गरिरहेको व्यक्तित्वको रूपमा देख्न सकिन्छ। जसले एकातिर राजनीतिलाई व्यक्तिगत लाभमा उपयोग गर्ने तदर्थ कित्ता र अर्कोतिर उहाँको नेतृत्वमा “समृद्ध नेपाल- सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियान सँगसँगै अगाडि बढेको देखिन्छ।
तेस्रो आयाम
सूक्ष्म अध्ययन र अनुभूति गर्नेहरूका लागि केपी शर्मा ओलीको जीवनको तेस्रो आयाम पनि प्रेरणादायी छ। त्यो हो, ज्ञान विवेचना र त्यसले पैदा गर्ने गुरुत्व। जसले ओलीलाई कम्युनिस्ट पार्टीको नेताको परिचयबाट “केपी बा” मा विस्तार गरेको छ। सहज सामाजिक अन्तर्क्रिया, समाजका सबै पेशागत र सिर्जनात्मक क्षेत्रमाथिको दृष्टि, विषयगत अध्ययन र संवाद शैलीले उहाँलाई अनुयायी र आलोचक दुवैथरीले आफ्नो मस्तिष्कमा राखिरहेका छन्।
ओलीको त्यही सामाजिक गुरुत्वका कारण राजनीतिमा मिल्ने र नमिल्ने, देखिने र नदेखिने शक्तिहरूको उहाँ विरुद्ध मोर्चाबन्दी हुने गरेको छ। ओलीको यही सामर्थ्य समकालीन अन्य दल र तिनका नेताहरूमा भयको कारकका रूपमा देख्न सकिन्छ र उनीहरूको व्यवहार र अभिव्यक्ति यसैमा आधारित भएर प्रकट हुने गरेको छ।
केपी शर्मा ओलीले राजनीतिको यस शिखरसम्म आइपुग्न पटक पटक मृत्युसँग ठोक्किएको ५६ वर्ष लामो सङ्घर्षपूर्ण राजनीतिक यात्रा, १४ वर्ष लामो कठोर जेल जीवन एवं विकास र समृद्धिको नेतृत्व गर्ने यात्रा पार गर्नुभएको छ। मुलुकको शक्तिशाली पार्टीको अध्यक्ष र देशको कार्यकारी प्रमुखको उहाँको यात्रा पाइलापाइलामा मृत्युको खतरा बोकेर हिँडेको प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट सुरु भएको हो।
पछिल्लो पटक संवत् २०७८ साल मङ्सीरमा चितवनमा लाखौं जनताको सहभागितामा भएको दशौँ महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनु भएको छ।
नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुअघिको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो- “म धेरैपल्ट जीर्ण स्वास्थ्य अवस्थाबाट, धेरै जटिल अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ। भन्न सक्दिनँ, म कति बाँच्छु। तर, मलाई आज सन्तोष लागेको छ, किनभने म तपाईँहरूलाई आफ्नो अगाडि देखिरहेको छु। जब म तपाईँहरूका हिम्मती चेहराहरू देख्छु- म देशको भविष्य सुरक्षित देख्छु, आन्दोलनको भविष्य सुरक्षित देख्छु, पार्टीको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु। र, सर्वोपरि कुरा त समृद्धिको यात्रा सुरक्षित र सुनिश्चित रूपमा अगाडि बढ्छ भन्ने कुराको यकिन गर्न सक्छु।”
उहाँको उक्त अभिव्यक्तिले लोकतन्त्रमा जनताको र पार्टीमा कार्यकर्ताको सर्वोपरि निर्णायकत्वको आचरणसिद्ध निष्ठा अनि मुलुकको समृद्धिको सुरक्षित र सुनिश्चित यात्रामा अध्यक्ष ओलीको अद्वितीय आस्था रहेको स्पष्ट रूपमा उजागर गर्दछ। त्यसो त सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको जीवन लोकतन्त्रका लागि कठोर र यातनापूर्ण सङ्घर्षले भरिएकोले लोकतन्त्रप्रतिको निष्ठामा उहाँका अभिव्यक्तिमा मात्रै निर्भर रहनुपर्दैन किनभने उहाँको जीवन नै लोकतान्त्रिक आन्दोलनको पाठशाला बनेको छ।
विगतमा राजनीतिक अस्थिरताको शिकार बनेको मुलुकमा सरकार बन्नुलाई नै उपलब्धि ठान्ने स्थिति थियो र विकासको दायित्वबाट सरकार बाँधिने सामान्य राजनीतिक चेष्टासमेत देशले गुमाएको थियो। राष्ट्रको स्रोत र शक्तिमा राजनीति गर्ने व्यक्तिहरूबिच भागबण्डा मिलाउनु नै राजनीति हो भन्ने भाष्य थियो, जसलाई ओलीको सरकारले तीन वर्षमा बदलेको थियो। र, पहिलो पटक समाजमा विकासका आयोजना र कार्यक्रमहरूका विषयमा बहस हुन थालेको थियो।
उहँले “समृद्ध नेपाल, सुखी नेपाली” को परिकल्पना गरी यसलाई साकार पार्न २५ वर्षको विकासको दीर्घकालीन सोच, २१०० को प्रारूप तयार गरी कार्यान्वयनमा अगाडि बढाउनुभएको थियो।
यसमा समृद्धि (Prosperity) का लागि सर्वसुलभ आधुनिक पूर्वधार र सघन अन्तरआबद्धता, मानव पुँजी निर्माण र सम्भावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन एवं उत्पादकत्व र उच्च तथा समतामूलक राष्ट्रिय आय अभिवृद्धि गर्ने ४ वटा राष्ट्रिय लक्ष्य तय गरिएका थिए। साथै, सुख (Happiness) का लागि परिष्कृत तथा मर्यादित जीवन; सुरक्षित, सभ्य र न्यायपूर्ण समाज; स्वस्थ र सन्तुलित पर्यावरण; सुशासन, सबल लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र सम्मान हासिल गर्ने ६ वटा राष्ट्रिय लक्ष्य तय गरिएका थिए। यसका लागि राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजना र प्राथमिकताप्राप्त आयोजना र कार्यक्रमसहित २५ वर्षे दीर्घकालीन योजना कार्यान्वयनमा ल्याइएको थियो। यसले मुलुकलाई सुरुङमार्ग, रेलमार्ग, जल यातायातसहितको आधुनिक पूर्वाधार सहितको सघन अन्तरआबद्धता कायम गरी विकास र सहकार्यको नयाँ युगमा प्रवेश गराएको थियो।
केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, अग्रगामी, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउने काम अघि बढाएको थियो। अभिव्यक्ति, व्यवहार र सरकारले अवलम्बन गरेका नीतिहरूमा देशको आत्मनिर्भरताका दीर्घकालीन छनकहरू आउन थालेका थिए।
ओली सरकारले थालनी गरेका काम दूरगामी महत्त्वका थिए। निराशा, अन्यौल, विपन्नता र पछौटेपनको अँध्यारो छाएको नेपाली राजनीतिको क्षितिजमा आशा, भरोसा, राष्ट्रको समृद्धि र जनताको सुखको बहस आरम्भ भएको थियो।
तर, ओली सरकार हटाइएपछि ती सबैजसो विकास अभियान अवरुद्ध भए। पुनः नेपाली राजनीति दल र दलका नेताहरूबिच राज्यसत्ता, स्रोत र शक्ति बाँडफाँटको कार्यसूचीमै केन्द्रित हुन पुग्यो।
राजनीतिक जीवनको शुरुवात
केपी शर्मा ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षको गर्भबाट भएको थियो। त्यसभित्र देशभक्ति, लोकतन्त्र र सामाजिक न्याय, समानता र जागरणको धारा समाहित छ।
देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवहार र आचरणको सङ्गति कायम गर्न ओली सफल हुनुभएको छ। निरङ्कुश शासनसत्ताले उहाँमाथि हरदम मृत्युदण्डको तरबार झुण्ड्याएको थियो। राजनीतिक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रूपमा सिंहदरबारमा आसीन हुँदा- ती दुवै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित हुनुभयो।
सरकारमा रहेको समयमा भएको नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धि, लिम्पियाधुरा-लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्सा, विकास निर्माणका काममा तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम आदिले कम्युनिष्ट आन्दोलन थालनी र अहिलेको कामबिचको सङ्गतिका सामान्य झलक दिन्छन्।
सम्माननीय प्रधानमन्त्री ओलीले भन्नुभएको छ- ‘हामीले सुरुदेखि नै देशभक्तिको धारा, त्यसको अभिभारा, लोकतान्त्रिक आन्दोलनको धारा, त्यसको अभिभारा, सामाजिक जागरण र परिवर्तनको धारा र यी तीनवटै अभिभारालाई अगाडि बढाउँदै आयौँ। आज हाम्रो पार्टी यी तीनवटै सन्दर्भमा राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति र व्यवहारहरू तथा सम्बन्धहरूको सञ्चालनका सन्दर्भमा अत्यन्तै स्पस्टताका साथ र एउटा हैसियतका साथ स्थापित छ।
ग्रामीण किसान परिवारमा जन्मनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बाल्यकालमा आफ्नो र परिवारको जीविकोपार्जनको लागि गाईबस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम गर्नुभयो।
आफ्नो बाल्यकालबारे सोधिएको प्रश्नमा टेलिभिजन अन्तर्वार्तामा उहाँले भन्नुभएको छ- “हाम्रो परिवारमा त्यसबेला छोरीहरू थिएनन्। हजुरआमा मात्र हुनुहुन्थ्यो। हजुरआमाले बढारेको देखेपछि मलाई पनि बढार्नु पर्छ भन्ने लाग्यो, मैले त्यही सिकेँ। उहाँले घर पोतेको देखेपछि घर पोत्नु पर्छ भन्ने लाग्यो र घर पोत्ने लिप्ने काम पनि गरेँ। भाँडा माझेको देखेपछि भाँडा माझ्ने गर्दै मैले हजुरआमाले गर्ने घरायसी कामहरू सबैजसो गरेँ।ब्रतबन्ध भएपछि मैले खाना पकाउन पनि सिकें। खाना पकाउने, भाँडा माझ्नेदेखि लिएर तरकारी काट्ने, मसला पिस्ने, बत्ती बाल्ने, धागो कात्ने, गाइबस्तु चराउने, भकारो सोहोर्ने, कुँडो पानी खुवाउँने लगायत सबै काम म गर्थेँ। मलाई पढ्न र घरका कामहरू गर्न आनन्द लाग्थ्यो।”
वि. सं. २०२० सालमा तेह्रथुम जिल्लाबाट उहाँको परिवार झापा बसाइँ सर्यो। नयाँ ठाउँमा नयाँ साथीसङ्गीहरू बने। नयाँ ठाउँमा नयाँ साथीहरू भेट्दा समाजका चालचलन र वरपरका घटनाहरूबारे जिज्ञासा र प्रश्नहरू जन्मिन्छन्। हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वाभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नहरूको उत्तर खोज्नतिर प्रेरित गर्यो।
एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासाहरू र अर्कोतिर सङ्गतमा आएका नयाँ साथीहरूसँगै राजनीतिक जीवनको भ्रूण तयार गर्यो। यसै क्रममा १५ वर्षीय किशोरावस्थामै वि. सं. २०२३ सालमा उहाँ मार्क्सवादी अध्ययन दलमा सामेल हुनु भयो। यसमा मुख्य अगुवा हुनुहुन्थ्यो रामनाथ दाहाल। दाहाललाई पछि पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर गोली हानी हत्या गर्यो, जो झापा आन्दोलनका शहीद हुनुहुन्छ।
मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै उहाँ पूर्णकालीन राजनीतिमा सामेल हुनुभयो। वि. सं. २०२५ सालमा पूर्णकालीन राजनीतिमा सामेल हुँदा उहाँ १७ वर्षको हुनुहुन्थ्यो। पूर्णकालीन राजनीतिमा सामेल भएको एक वर्षमै वि. सं. २०२६ माघमा उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो। पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उहाँ गिरफ्तारीमा पर्नुभयो। त्यसपछिका ४ वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो।
झापा बसाइँ सरेपछि ओलीका बुबा एउटा विद्यालयको जग्गा भाडा लिएर खेतीकिसानीमा लाग्नु भएको थियो। जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोलाको बाढी पसेर जग्गा बगायो। त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो। त्यसबेला केपी शर्मा ओली भारी बोक्ने बाहेक खेती किसानीमा बुबालाई सघाउनुहुन्थ्यो।
उहाँले आफ्नो पारिवारिक स्थितिबारे बताउनु भएको छ- ‘म पढ्न स्कुल पनि गइरहेको थिएँ र काम पनि गरिरहेको थिएँ। म भारी बोक्ने बाहेक सबै काम गर्थेँ, मैले नसक्ने भनेको भारी बोक्ने काम मात्रै हो। खोलाले जमिन बगाएपछि हामीले अलिअलि जग्गा किन्न सुरु गर्यौँ। स्कुलको जमिन भाडामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो। त्यसबेला हामी धनी किसानको स्थितिमा थियौँ। त्यसपछि हामी एकपटक सुकुम्बासीको स्थितिमा र तत्पश्चात् गरिब किसानको अवस्थामा झर्नुपर्यो।‘
परिवारको आर्थिक अवस्था सम्हाल्न आफैँले काम गर्नुपर्ने अवस्था भए पनि उहाँ भूमिगत राजनीतिमा सामेल भइसकेकाले त्यता लाग्न पाउनुभएन। ‘म परिवारको स्थिति सम्हाल्नेतिर लाग्न पाइनँ, किनभने म राजनीतितिर लागिसकेको थिएँ। त्यसले बुवालाई अलिकति असहज भयो’ पारिवारिक समस्या छोडेर राजनीतिमा लागेका दिनलाई उहाँ यसरी सम्झिनुहुन्छ।
यता भाडामा लिएर कमाइ गरेको जग्गा खोलाले बगाउनु, उता उहाँ कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको जिम्मेवारीमा रहनु- यो घटना उहाँको राजनीतिक यात्राको वीजजस्तै बन्यो। फलदायी हरेक अभियानहरू यस्तै कठिनाइको गर्भमा हुन्छन् भन्ने दृष्टान्तका रूपमा यसलाई लिन सकिन्छ। किनभने यही समयको आसपास २०२८ सालमा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत हुनुभएको थियो। जुन आन्दोलनको तापबाट आज नेपालमा बहुमत जनताले रुचाएको पार्टी नेकपा (एमाले) को जग बसेको हो। त्यो एउटै समयबिन्दु थियो- जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिष्ट पार्टीको जीवनले नयाँ सिँढीमा पाइला टेक्यो।
देशमा निरङ्कुश पञ्चायती व्यवस्था थियो, मुलुकमा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन। स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो। न्याय, समानता, स्वतन्त्रता र मानव अधिकारको पैरवीलाई अपराधका रूपमा लिइन्थ्यो। न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन संगठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीव्र र कठोर दमन गर्यो। केपी शर्मा ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० साल असोज २३ गते पक्राउ परे।
केपी शर्मा ओलीले ४ वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास बिताउनु भयो भने उहाँका ५ जना सहयोद्धाहरूलाई जेल सार्ने बहानामा सुखानीको जङगलमा लगेर गोली हानी हत्या गरियो। जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन।
त्यस घटनाबारे ओलीले सुनाउनु भएको छ- ‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो। मलाई प्रहरीको भ्यानमा राखिएको थियो। तर, वीरगञ्ज नपुर्याउँदै बिचको जङ्गलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ। मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए। उनीहरूका साथमा मेरो लास पुर्न खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए। तर, सइ मोहनप्रसाद अधिकारीका कारण त्यो दिन मेरो ज्यान जानबाट जोगियो।
जेलभित्रको पनि जेल मानिने गोलघरमा राखेर उहाँलाई चरम यातना दिइन्थ्यो। जहाँ मानसिक स्थिति बिग्रेकाहरूलाई राखेर यातना दिइन्छ।
उहाँकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेख्नुभएको छ-‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबको लागि बाहिर जान छुट थिएन। त्यहीँ खाने, त्यहीँ शौच गर्ने दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे। शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे। ओढ्ने ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो। आजको सभ्य समाजका लागि यो कल्पनातीत विषय हो
संयोगवश मृत्युको मुखबाट फर्किनु भएका ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले) को संस्थापकको हैसियतमा रहनुभयो। जेलभित्रै निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठुलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रहनु भयो।
वि.सं. २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो र पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो।
नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि वि.सं. २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नु भयो।
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा वि.सं. २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहनु भयो।
बहुदलीय व्यवस्थाको स्थापनापछि वि.सं. २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा केपी शर्मा ओली झापा-६ बाट निर्वाचित हुनुभयो।त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा पनि झापा-२ बाट उहाँ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो। यसै बिचका विभिन्न समयमा ओली पार्टीको पोलिटव्युरो सदस्य सहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहनु भयो।
ग्रामीण वर्गसङ्घर्षको गर्भबाट राजनीतिक जन्म लिएका ओली निरंकुश व्यवस्था विरुद्धको कठिन सङ्घर्षबाट खारिंदै बहुदलीय व्यवस्था प्राप्तिपछि वि.सं. २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री हुनुभयो। मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उहाँले गृहमन्त्रीको सफल मानक स्थापित गर्नुभयो।
कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किँदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टरको त्रासद दुर्घटनामा पर्नुभयो। पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उहाँहरू दुर्घटनाबाट बच्न सफल हुनु भयो।
पार्टी प्रमुखको रूपमा नरहे पनि पार्टीको वैचारिक मार्ग पहिल्याउने अग्रणी नेताका रूपमा ओलीमाथि नै कार्यकर्ताको भरोसा रहने गर्दथ्यो भन्ने तथ्य वि.सं. २०५४ माघमा भएको नेकपा (एमाले) को छैठौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको कार्यनीतिक प्रस्तावले प्रमाणित गर्दछ। नेपालगञ्जमा भएको महाधिवेशनमा ओलीले प्रस्तुत गर्नु भएको ‘शक्ति सञ्चय’को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो।
उक्त महाधिवेशनबाट ओली पार्टी स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखमा चुनिनु भयो। वि.सं. २०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गर्नुभयो। तर, महाधिवेशनले उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि भन्दै स्थगित गर्यो। जुन प्रस्तावलाई वि.सं. २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गर्यो। उहाँको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उहाँ पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो।
मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित गर्यो। त्यस परिघटनाले उहाँलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रूपमा नेकपा (एमाले) को कार्यकर्ता पङ्क्तिले अनुभूत गरेको पाइन्छ।
उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदबा र त्यसभित्र निहित दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझ्नु भएको कुरा नेपालको सिङ्गो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो। त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्रै नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिँडाउन सक्ने राष्ट्रिय नेताका रूपमा स्थापित भयो।
वि.सं. २०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित हुनुभएका ओली संसद्मा नेकपा (एमाले) संसदीय दलको उपनेतामा निर्वाचित हुनुभयो। वि.सं. २०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बन्नुभयो। ओली २०५७ देखि हालसम्म अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको पनि अध्यक्ष हुनुहुन्छ।
वि.सं. २०७० मङसिरमा झापा – ७ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका ओली त्यसलगत्तै माघमा संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित हुनु भयो।
वि.सं. २०७१ साउनमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित हुनुभयो। तत्कालीन राजनीति तदर्थता र निर्णयहीनताको गोलचक्करको शिकार हुनेगरेकोप्रति समाजमा चरम निराशा थियो। ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो।
नवौँ राष्ट्रिय महाधिवेशनपछिको राजनीतिक स्थिति र पार्टीको भूमिकाबारे ओलीले भन्नुभएको छ- ‘हामीले नवौँ महाधिवेशनयता पार्टीलाई स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढायौँ।के हो नेकपा एमाले ? के हो यसको नीति ? कता जाने हो ? यसको रङ्ग के हो ? कतिले यसको लिङ्गका बारेमा प्रश्न उठाए, अनेक प्रकारका दुर्वाच्यहरू बोले। वास्तवमा परिस्थिति पनि वैचारिक हिसाबमै अन्योलग्रस्त थियो।त्यस स्थितिबाट हामीले पार्टीलाई अरू एक्लैले हामीसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुर्याएका छौं।
पार्टीको आन्तरिक राजनीतिमा निर्णायक हैसियत वृद्धि भएसँगै २०७२ असोज २४ गते केपी शर्मा ओली पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो।
“भुगोलको आधारमा देश सानो वा ठुलो हुन सक्छ, तर हरेक देशको सार्वभौमसत्ता समान हुन्छ।” भन्ने उहाँका यी भनाइ पछिल्ला कदमहरूले पुष्टि गरे। केपी शर्मा ओली नेतृत्वको सरकारले देशको सीमा रक्षामा अवलम्बन गरेका नीतिले उहाँले भूराजनीतिक प्रहार पनि खेप्नु पर्यो। राष्ट्रको हित, लोकतन्त्रको अवलम्बन र सामाजिक परिवर्तनमा ओलीले चालेका कदम र अडानहरूमा उहाँको छवि प्रतिविम्बित हुन पुग्यो।
राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ। नेपालको परराष्ट्र नीतिका सन्दर्भमा “सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता” भनेझैट्ट केपी शर्मा ओलीले भन्नुभएको छ – “हामी सबैसँग मित्रता चाहन्छौं। हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौँ।“
नेपालले पटक पटक भोग्दै आएको नाकाबन्दी देशको स्वाभिमान, स्वतन्त्रता र आत्मनिर्भरताका लागि इतिहासदेखिको पीडादायी उपक्रम थियो। ओलीले उत्तरी छिमेकी चीनसँग पारवहन सन्धि गरी त्यस समस्याबाट मुक्त गर्दै नेपालको आत्मबल बढाउनु भयो। देशको भूराजनीतिक अवस्थितिलाई यसले नयाँ धरातलमा पुर्याएको तथ्य सबैले स्वीकार गरेका छन्।
यस क्रममा सरकारमा साझेदारी गरिरहेको नेकपा माओवादी (केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्यो। तत्पश्चात् वि.सं. २०७३ माघ ९ गते संसदलाई सम्बोधन गर्दै राजीनामा दिनुभयो।
पहिलो पटक प्रधानमन्त्री बनेको नौ महिनामै हटाइनु भएका ओलीको सोही लोकप्रियताको जगमा वि.सं. २०७४ सालमा भएको स्थानीय चुनाव तथा सोही वर्ष भएको आम निर्वाचनमा नेकपा (एमाले) धेरै ठुलो मत र सिटको अन्तरमा पहिलो दल बन्न पुग्यो । तर, सरकार सञ्चालन गर्न आवश्यक बहुमत अझै पनि नेकपा (एमाले) सँग थिएन ।
यही पृष्ठभूमिमा वि.सं. २०७४ सालको आमनिर्वाचनपछि नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा ओली वि.सं. २०७४ फागुन ३ गते मुलुकको ४१ औँ प्रधानमन्त्री नियुक्त हुनुभयो।
दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो। पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताहरूकाबिच भिन्नता रहेको तथ्य झण्डै तीन वर्षपछि भएको पार्टी विभाजनले पुष्टि गर्यो।
यसबारे ओलीले भन्नुभएको छ- “हामीले पार्टी एकीकरण नगर्ने हो भने तत्काल सरकार ढाल्ने र फेरि देश अन्धकारतर्फ जाने स्थिति थियो। हामीले हाम्रा नीतिहरूको कार्यान्वयन गरेर सबल नीतिहरूको सहिपना प्रमाणित गर्न पनि नपाउने र देश विकासको हाम्रो क्षमता पनि हामीले प्रकट गर्न नपाउने स्थिति बन्थ्यो। त्यस स्थितिबाट जोगिएर देशलाई अगाडि बढाउन हामीले पार्टी एकीकरण गर्नु, एकता गर्नु, कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनु र अगाडि बढ्नु आवश्यक थियो।हामीले त्यसै गर्यौँ, तर…”
यस पछिको ‘तर’ ले नेपालको राजनीतिक वर्तमानलाई प्रभावित बनायो । विभिन्न कारणले त्यो एकता टिक्न सकेन र राजनीतिलाई स्थायित्व दिने प्रयासमा अवरोध आयो ।
पुनरुत्थान, पुनर्थालनी र पुनर्जागरण
पछिल्लो शताब्दीको नेपाली राजनीतिक चक्र लोकतान्त्रिक व्यवस्था प्राप्ति र प्रतिगमनका आरोह अवरोहमा बितेका थिए। संविधानसभाले पहिलो पटक संविधान बनाएपछि ओलीले नेपालको सामाजिक राजनीतिक चिन्तनको बहाबलाई अर्थतन्त्रको सुदृढीकरण, पूर्वाधारको विकास, संस्कृतिको पुनरुत्थान र पुनर्थालनीमा अभिमुख गर्न थाल्नुभयो। नेपालको आत्मनिर्भरता र सक्षमतासँग विमति राख्नेहरूका लागि यो खुसीको विषय थिएन, त्यसैले ओलीमाथि प्रहार पनि उत्तिकै भयो।
प्रणालीमा स्थिरता कायम गर्ने, जनतामा जागरण र आशा जगाउने, सामाजिक पूर्वाधार, भौतिक पूर्वाधार र आर्थिक विकासको नयाँ रङ्ग सेचन गरेर नयाँ युगको थालनी गर्ने र त्यसले जनताको जीवनमा परिवर्तन ल्याउने परिकल्पना ओलीले गर्नुभएको थियो- समृद्ध नेपाल, सुखी नेपाली।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूर्णतामा पुर्याउने नीतिगत आधार, तदनुसारका योजना, कार्यक्रम र तिनको कार्यान्वयनका आधारहरूसमेत तय भए। ओली नेतृत्वको सरकारले तीन वर्षे अवधिमा त्यसलाई कैयौँ अवरोधबिच कार्यान्वयनमा अघि बढाएको थियो। हरेक पालिकाहरूमा आधारभूत अस्पताल निर्माणको थालनी होस् वा हरेक निर्वाचन क्षेत्रलाई जोड्ने कृषि सडकका कार्यक्रमहरू- ती त्यसैतर्फका पाइला थिए।
ओली सरकारले तय गरेको दिशा र त्यसतर्फको तदारुकता मापन गर्न तराई मधेसका बासिन्दाले एउटा दृष्टान्त दिने गरेका छन् “देशमा सधैं सरकारहरू थिए, प्रधानमन्त्री पनि थिए, प्राकृतिक विपत्ति पनि हरेक वर्ष आउँछ तर बारा पर्सामा एक रातमा आएको टोर्नाडो (हुरी) ले घरबार गुमाएका ८ सय ७९ परिवारलाई पाँच महिनामै पक्की घर बनाएर दिने तत्परता देखाएको सरकार चाहिँ ओली सरकार नै हो।”
प्रधानमन्त्रीको रूपमा ओलीको दोस्रो कार्यकाललाई देश निर्माणको पुनर्थालनीको शिलान्यास भन्न सकिन्छ। चीन र भारत जोड्ने उत्तर-दक्षिण रेलमार्ग, पूर्व-पश्चिम रेल्वे, विभिन्न ठाउँमा सुरुङ मार्ग, राजमार्गहरूको विस्तार, मध्यपहाडी लोकमार्ग निर्माण, सुनकोशी मरिन डाइभर्सनलगायतका सिँचाइ आयोजना र फलाम खानीको निर्माणको शुरुवात् समृद्ध राष्ट्र निर्माणको पुनर्थालनीतर्फका पाइला थिए।
नागरिकहरूको आत्मविश्वासले मात्र देशमा परिवर्तन ल्याउन सकिने ओलीको विश्वास देखिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसैका लागि अघि सारिएका थिए। कृषि स्वरोजगारमा संलग्न युवा उद्यमीहरूसँग प्रत्यक्ष सार्वजनिक संवाद गरी उत्प्रेरणा जगाउने काम उहाँले निरन्तर गरिरहनु भएको छ।
“देशको प्रधानमन्त्रीले विनाजानकारी अचानक फोन गरेर मेरो कृषि उद्योगका बारेमा सोध्दा म अचम्मित भएँ। वैदेशिक रोजगारीबाट फर्केर गुल्मीमा बहुमूल्य अगरउड र श्रीखण्ड उत्पादनमा सक्रिय किसान दिलिप भण्डारीले भन्नुभयो, ‘कति नेता प्रधानमन्त्री भए, कति नेता मन्त्री भए, तर केपी ओलीजस्तो उत्पादन र आर्थिक विकासमा आधारभूत तहमै पुगेर बुझ्ने, चासो लिने र प्रेरणा दिने प्रधानमन्त्री र नेता मैले देखेको छैन।”
केपी शर्मा ओलीले आफ्नो सरकारलाई कृषिलाई उद्योगका रूपमा विकास गर्ने र त्यसलाई रोजगारी सिर्जना गर्नेतर्फ लक्षित गर्नु भयो। सातवटै प्रदेशहरूमा औद्योगिक ग्राम निर्माण गर्न उहाँले देखाउनुभएको अग्रसरताले यसलाई सङ्केत गर्छ।
केपी शर्मा ओलीको निरन्तरको प्रयासले उहाँ नेतृत्वको सरकारले भूकम्प पछिको पुनर्निर्माणको कामलाई सम्पन्न गर्यो।त्यसबिचमा ७ लाख ५० हजार नागरिकका निजी आवास, ५८९ सांस्कृतिक सम्पदा निर्माण, ७ हजार ५५३ विद्यालय, ७५१ स्वास्थ्य संस्थाहरू निर्माण सम्पन्न भए। ५७४ सरकारी भवन र २१६ सुरक्षा निकायका भवन पुनिर्माण भए।
ओलीले नेपालको भू-अवस्थितिलाई विश्वको ध्यान तान्ने विशेषताका रूपमा प्रस्तुत गरेर यहाँको सांस्कृतिक पुनरुत्थानमा ध्यान दिएको अनुभूत गराउने गर्नुभएको छ। यहाँको सभ्यता, प्राकृतिक सम्पन्नता, यहाँको प्राचीन ज्ञान परम्परा र औषधियुक्त वनस्पतिका विविधतालाई आफ्ना अभिव्यक्तिमार्फत निरन्तर प्रवर्द्धन गर्दै आउनुभएको छ।
‘हाम्रा हिमालहरूले कुलिङ सेन्टरका रूपमा काम गर्दछन् र हिमालमाथि हिउँ थुपारेर तिनले रिचार्ज सिस्टमको एउटा असाधारण प्राकृतिक प्रक्रिया पूरा गर्छन्। रिचार्ज सिस्टमले चट्टानहरूमा पानी सङ्गालेर विस्तारै हिँउ पगालेर झरनाहरू बनाउने, पहाडमा मूलहरू फुटाउने गरेका छन्’ उहाँले भन्नुभएको छ, “हामीले विश्व वातावरणमा यसको महत्त्व दुनियाँलाई बताउनु पर्छ। हामी वातावरणीय प्रश्नमा र गरिबी निवारणका लागि सबैसँग सहकार्य गर्न चाहन्छौँ। गरिबी र पछौटेपन आज मानव जातिको साझा समस्या छ। त्यसको निवारणका लागि सहकार्य गर्दै संयुक्त रूपमा अगाडि बढ्ने कुरामा हामी विश्वसँग सँगै काम गर्न चाहन्छौँ।”
महिला र किशोरीमाथि हुने यौन हिंसा, तेजाव आक्रमणजस्ता अपराधीलाई कारवाही गर्ने र पीडितहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न उहाँले सरकारमा रहँदा प्रभावकारी कदम चाल्नु भयो। तेजाव आक्रमण लगायत महिला हिंसा विरुद्धका कानुन अध्यादेशमार्फत् जारी गराउनु भएको थियो। उहाँलाई प्रधानमन्त्रीबाट हटाएपछि यस्ता कानुनहरू अलपत्र पारिएका थिए।
राजनीतिलाई अधिकार प्राप्तिको सङ्घर्षको चरणबाट राष्ट्रको विकास, पुनरुत्थान र पुनर्थालनीको दिशातर्फ आफूलाई केन्द्रित गर्दा उहाँले देशका राजनीतिक शक्तिहरूबिच एकता र सहयोगात्मक अपेक्षा राख्नुभयो। तर, शक्तिको अभ्यास सत्ता निर्माण र विघटनमा प्रयोग गर्ने परम्परागत राजनीतिक वृत्त त्यसका लागि अनुकूल हुन सकेन।
केपी शर्मा ओलीले त्यस क्रममा घोषणा गर्नुभएको थियो- “हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौँ। देशभित्रका विभिन्न शक्तिहरू- जो सही ढङ्गले लोकतन्त्रको पक्षमा, राष्ट्रियताको पक्षमा, सुशासनको पक्षमा, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन्, जो समृद्धिका निम्ति काम गर्न चाहन्छन्, जो सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव वृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन्, ती सबै शक्तिहरू र व्यक्तिहरूसँग पनि हामी मिलेर काम गर्न चाहन्छौँ।”